मंगलबार, जेठ १५, २०८१

एमसीसीबारे व्यख्यात्मक घोषणा बकवास : ईश्वर पोखरेल

नेपालखोज २०७८ फागुन २१ गते १७:२७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीको व्यख्यात्मक घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको बताएका छन् । ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले गठबन्धन नै टुट्ने भएपछि बाध्य भएर एमसीसीको व्यख्यात्मक घोषणा ल्याएको दाबी गरे ।

आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाई माधव नेपालले गरेको आरोप समेत उनले लगाएका छन् । पोखरेलले प्रमुख प्रतिद्वन्द्वी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको नेतालाई हटाउने आपराधिक काम माधव नेपालबाट भएको बताए । उनले भने, ‘ओलीले कमजोरी गरे भन्ने नाममा हाम्रो प्रमुख प्रतिद्वन्द्वी, बोलिचालीको भाषामा प्रमुख शत्रु नेपाली कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउने आफ्नो पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाई गर्ने काममा मूख्य भूमिका माधव नेपालले खेल्नुभयो ।’

पार्टीबाट अलमलिएका नेताहरुलाई संगठनमा ल्याउन आग्रह गर्दै उनले नेपालजस्ता विभाजनको अगुवाई गर्नेहरुप्रति कुनै भ्रम नराख्न पनि आग्रह गरे । केपी शर्मा ओलीले ताजा जनादेशमा जान्छु भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा यस्ता आपराधिक काम भइरहेको उनको टिप्पणी छ । उनले भने, ‘यतिबेला घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई माधव नेपालले गरेका हुन् ।’

एमसीसीको व्यख्यात्मक घोषणा बकवास भएको उनको भनाई छ । पोखरेलले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा असर नपर्ने गरि मुलुकको हितका लागि अन्य देशको सहयोग स्वीकार गर्नुपर्ने धारणा राखे । उनले एमालेलाई मार्गदर्शन गर्ने विचार जनताको बहुदलीय जनवाद नै भएकाले विचारबाट तलमाथि हुन नसक्ने स्पष्ट पारे ।

पोखरेलले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया