आइतबार, जेठ ६, २०८१

झापा आन्दोलन भन्छ- सही बाटो हिँड्दै छौ कि भुल्यौं दाजुभाइ ? (फोटो फिचर)

नेपालखोज २०७८ फागुन २१ गते १८:४१

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । झापा विद्रोहबाट नै उदाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् ।

चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी सहिद स्मृति दिवस’ मनाउने गरिन्छ ।

सुखानी सहिद स्मृति दिवसका अवसरमा ओलीले सुखानी पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेका छन् ।कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने झापा विद्रोहसँगै हत्या गरिएकालाई सरकारले २०७२ फागुन १८ गते सहिद घोषणा गरेको थियो ।

कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’ का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको गीतले क्रान्तिको बाटो नभुल्न सन्देस दिइरहेको छ ।

‘सुखानीको रगतले भन्छ हामीलाई,
सही बाटो हिँड्दैछौ कि भुल्यौं दाजुभाई ?’

वि‍.स २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिस्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । सुस्ताएको कम्युनिस्टलाई आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा पाँच योद्धालाई गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया