बिहीबार, जेठ १०, २०८१

माओवादीको बैठक बस्दै, निर्णय नस्वीकारे पार्टी छाड्न प्रचण्डको चेतावनी

नेपालखोज २०७८ फागुन २२ गते १०:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

एमसीसी लगायतका समसामयिक विषयमा समेत छलफल हुने छ । पार्टीबाट एमसीसी अनुमोदन गराउने लगायतका एजेण्डा आजको बैठकमा प्रस्तुत हुने छ । बैठकको कार्यसूचीमा पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय समेटिएको छ ।

माओवादीले पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन । गत पुस १८ गते माओवादीको आठौं महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गर्‍यो । पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गर्‍यो तर पार्टी पदाधिकारीबिहिन छ ।

बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिइने बताइएको छ । २९९ केन्द्रीय सदस्यमध्ये २४७ चयन भइसके । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ । त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ। यता पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

संसद्बाट एमसीसी पारित भएकोप्रति नेता नारायणकाजी श्रेष्ठ समूहले शुक्रबारको बैठकमा फरक मत राखेका थिए ।व्याख्यात्मक टिप्पणीका नाममा प्रचण्ड दलाल र पुँजीपतिसँग मिलेको श्रेष्ठ पक्षको आरोप छ । अन्तिम समयमा एमसीसी अनुमोदन गर्ने निर्णियमा पुगेको माओवादीसँग आफ्नै नेता-कार्यकर्ता रुष्ट छन् ।

प्रचण्डले श्रेष्ठ पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिइसकेका छन् । आजको बैठक एमसीसी विरोधी खेमाका लागि महत्वपूर्ण छ । उनीहरुले पार्टी छाड्न सक्ने आशंका पार्टीमा छ ।

प्रतिक्रिया