आइतबार, जेठ ६, २०८१

माओवादी केन्द्रले पदाधिकारी चयनमा सहमति जुटाउन सकेन

नेपालखोज २०७८ फागुन २२ गते १६:५९

काठमाडौं । पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास असफल भएपछि आज बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

पार्टीको पदाधिकारी चयनलगायतका विषयमा सहमति नजुटेपछि भोलि बिहान ११ बजेसम्मका लागि पार्टी केन्द्रिय कार्य समितिको बैठक स्थगित गर्ने निर्णय गरिएको पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकका लागि तोकिएको स्थान अनुपम फुडल्याण्डमा उनले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको म्यान्डेटअनुसार पदाधिकारी चयनका लागि तयारी पूरा नभएको र संसद बैठक पनि परेकाले आज बोलाइएको केन्द्रिय समिति बैठक भोलिसम्मका लागि स्थगित गर्नु परेको स्पष्ट पारे ।

गत फागुन २० गतेबाट सुरु भएको केन्द्रिय समितिको आजको बैठकमा पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय सदस्यहरुको मनोनित गर्ने एजेन्डा तय गरिएको थियो । तर त्यो होमवर्क पूरा हुन नसक्दा आजको बैठक स्थगित हुन पुगेको पार्टी कार्यालयका मुख्यसचिव ढकालले बताए ।

यसैबीच, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य हिमाल शर्माले अन्तिम समयमा आएर पार्टी केन्द्रिय समितिको बैठक स्थगित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले पदाधिकारी चयनमा कुरा नमिले तत्काल केन्द्रिय समिति बैठकमा ल्याएर सहमती गर्न पनि पार्टीको नेतृत्वसँग माग गरे । शर्माले एमसीसीबारे बैठकमा समिक्षा गर्ने र धेरै जित्यौं भन्ने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे ।

अर्का केन्द्रिय सदस्य दलजीत विक श्रीपालीले एमसीसीलाई देखाएर पार्टीभित्र विभाजनको रेखा नर्कोर्न नेता नारायणकाजी श्रेष्ठलाई चेतावनी दिएका छन् । उनले चुनावको सामना गरेर जाने बेला नेताहरुले फरकमत राखेर पार्टीमा गुट बनाउन नपाउने बताए ।

त्यस्तै, केन्द्रिय सदस्य रत्न ढकालले एमसीसीको कारण पार्टी विभाजन नहुने दाबी गरेका छन् । पार्टीमा फरक मतको जहिले पनि सम्मान हुने उल्लेख गर्दै उनले केन्द्रिय समिति बैठकमा पनि एमसीसीबारे छलफल हुने बताए । तर त्यसैकारण पार्टी विभाजन नहुने उनको भनाई थियो । केन्द्रिय सदस्य ढकालले एमसीसीको कारण पार्टीको बैठक स्थगित हुने अवस्था नरहेको पनि बताए ।

प्रतिक्रिया