शुक्रबार, वैशाख २१, २०८१

कोरिया जाने पर्खाइमा रहेकालाई चाँडो लैजान मन्त्री श्रेष्ठको आग्रह

नेपालखोज २०७८ फागुन २३ गते १४:१५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएसअन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरू रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका हुन् ।

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकामा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेको बताए ।

कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै उनले छिटो सञ्चालन हुने विश्वाससमेत दिलाए ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकामा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका छन् भने आज १७४ जना जाँदै छन् । यसपछि मार्च १६ गते १७० जना जानेछन् । नेपालीहरू मिहिनेती र इमानदार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताए ।

दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया