शनिबार, वैशाख २२, २०८१

महिलाका सबै उद्योगमा कर छुटको व्यवस्था गर्छाै : महिलामन्त्री रेग्मी

नेपालखोज २०७८ फागुन २३ गते १६:४२

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि कर छुटको व्यवस्था गर्ने बताइन् ।

सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने उनले बताइन् । त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उनको कार्ययोजना थियो । त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन् । स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दो रहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको बताइन् ।

उनले तत्काल सेनेटरी प्याडमा लाग्ने कर हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पारिन् । मन्त्री रेग्मीले भनिन्, ‘महिलाहरुले सुरु गरेका उद्योगहरुमा छुटको व्यवस्था गर्नुपर्छ । त्यसमा मैले अहिले सेनिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दो रहेछ । राजस्व लाग्दो रहेछ । त्यसकारणले म आउने वित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र खेलेर राजस्वमा पठाई सकेका छौं । त्यसका लागि आवश्यक कच्चा पदार्थ र मेसिन जस्ता बस्तुहरुमा कर लाग्नु हुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौं । र, अरु कुराहरुमा पनि महिलाहरुलाई उत्साह दिनका लागि, हौसला दिनका लागि महिलाहरुले गर्ने जुन उद्यमशीलता छ, उद्योग छ । त्यसमा चाँही यति प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ । त्यो गर्ने भनेको बजेट भाषणमा हो । र, त्यसको लागि म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री हुँ । अर्थ मन्त्रालयसँग, अर्थमन्त्रीसँग, प्रधानमन्त्रीसँग समेत लबिङ गरेर कसरी छुट दिन सकिन्छ, कति छुट दिन सकिन्छ ? भन्ने कुरा महिलाहरुलाई उद्यमी बनाउनका लागि छुट दिन सकिन्छ ? त्यसका लागि लबिङ गर्नेृछु । र, त्यो आगामी बजेटमा पार्न सक्दो कोसिस गर्नेछु ।’

मन्त्री रेग्मीले महिलाहरुलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न पटकपटक आग्रह गरिन् । बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलाहरुलाई अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको तर्क थियो ।

प्रतिक्रिया