शनिबार, वैशाख २२, २०८१

गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ : रामचन्द्र पौडेल

नेपालखोज २०७८ फागुन २४ गते १५:२१

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको समापन गर्दै उनले गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

मानिसलाई गाउँमै बसेर केहि गर्ने सोच बनाउनुपर्ने उनले बताए । वरिष्ठ नेता पौडेलले रोजगारी र सेवासुविधाको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्काउनुपर्नेमा जोड दिए । उनले भने, ‘पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ ।’

नेता पौडेलले तनहुँ ऐतिहासिक ठाउँ रहेकाले यसको विकास गर्नुपर्ने बताउँदै कुनै जमानामा चहलपहल रहेको तनहुँसुर विस्तारै ओझेलमा परेपनि विकासको क्रमले पुनः यो ठाउँ चहलपहल हुने दिशामा अगाडि बढेको बताए । उनले भने, ‘आज डाँडा-डाँडामा विकास पुगेको छ, डाँडाको दिन फर्किन थालेको छ, राना भनेको जनजाति हुन्, अब जनजातिका पनि दिन फर्किन्छन् ।’

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वरिष्ठ नेता पौडेलले महिला हाफ म्याराथनका विजेतालाई पुरस्कार वितरण गरे । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखाबम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भइन् । उनीहरुले क्रमशः रु ४१ हजार ७८, ३१ हजार ७८ र २१ हजार ७८ नगद प्राप्त गरे ।

खेलकुदका माध्यमबाट पर्यटनका लागि म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया