आइतबार, वैशाख २३, २०८१

गन्धर्व तथा विपन्न दलित परिवारका लागि सरकारले बनाइदियो घर

नेपालखोज २०७८ फागुन २५ गते १३:०४

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले पक्की घर बनाइदिएपछि अल्पसङ्ख्यक गन्धर्व तथा विपन्न दलित परिवारमा खुसियाली छाएको छ । कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइदिएको घरमा बस्दै आएकी कल्पना गन्धर्वले जीवनभरिको सपना पूरा भएको बताइन् ।

नगरपालिकाले घर बनाइदिएपछि धेरै खुसी भएको बताइन् । सामूहिक आवास कार्यक्रमअन्तर्गत कोहलपुर नगरपालिकामा रहेका घरबासविहीन अल्पसङ्ख्यक गन्धर्व, वादी तथा विपन्न दलित समुदायको लागि २० घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार, सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर –११ लोकनगरमा १७ घर गन्धर्व, दुई घर वादी र एक घर एकल अपाङ्गता दलित महिला गरी २० जनालाई घर हस्तान्तरण गरिएको बताए ।

नगरपालिकाले दुई करोड रुपैयाँको लगानीमा २० भवन निर्माण गरेर अल्पसङ्ख्यक गन्धर्व र विपन्न दलित परिवालाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । शौचालयसहित निर्माण गरिएको यो सामूहिक आवास अन्य पालिकामा भन्दा नमुना काम भएको उनले दाबी गरे ।

प्रतिक्रिया