बिहीबार, जेठ १०, २०८१

विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न भिसामा कडाइ

नेपालखोज २०७८ फागुन २५ गते १६:२२

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि शर्तहरु राखेर कडाइ गरेको हो ।

सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए÷नभएको, जस्तैःः राहदानी, वैध भिसा, हवाई टिकट, गन्तव्यसम्मको बोर्डिङ पास, होटल÷आवास व्यवस्था, भ्रमण अवधिको खर्च, भ्रमणसम्बन्धी कागजात हेर्ने व्यवस्था राख्न कार्यदलले सिफारिस गरेको छ ।

सरकारले यसरी शर्तहरु राखेपछि विभिन्न कोणबाट टिकाटिप्पणी आइरहेका छन्, संविधान विपरित र मानवअधिकार विपरित प्रावधान भएको बताएका छन् । तर गृह मन्त्रालयले भने यी शर्तहरु संविधान र मानवअधिकार विपरित नभइ नेपाली नागरिकहरुको सुरक्षाको लागि भएको स्पष्ट पारेको छ । आज संचारकर्मीसँगको कुराकानीमा कार्यदलका संयोजक एवं गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न प्रलोभनमा परेर भिजिट भिसामा खाडी मुलुक जाने र अलपत्र पर्ने गरेको भन्दै कार्यदलले नागरिक सुरक्षाका लागि प्रतिवेदन बनाएको बताए ।

उनले महिला अधिकारको हनन् गरेर भिजिट भिसामा विभिन्न शर्त राखिएको भन्ने कुरा गलत भएको बताए । सहसचिव पोखरेलले विदेश जाने नेपाली नागरिकलाई अलपत्र नपार्न सिमित प्रावधान बनाउनु राम्रो भएको बताए । उनले सरकार नागरिकहरुप्रतिको दायित्वबाट विमुख हुन नमिल्ने भन्दै वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई परिवार र आफन्तजनको अनुमतिबाट मात्रै विदेश जान पाउने प्रावधान प्रतिवेदनमा रहेको बताए ।

सहसचिव पोखरेलले नियम पूरा भएका व्यक्तिहरुले मात्रै भिजिट भिसामा जाने पाउने बुँदा समावेश गरी अध्यागमन कार्यालयलाई बुझाएको बताए । वैदेशिक रोजगारीमा जानेहरुको प्रक्रिया भन्दा भिजिट भिसामा जाने प्रक्रिया सहज भएकोले पनि धेरैले भिजिट भिसाको प्रयोग गरेको र विदेश पुगेपछि अलपत्र पर्ने गरेको उनको बुझाइ छ ।

विदेश जाँदा वैदेशिक रोजगारीको प्रावधानबाट गए मात्रै हरेक नागरिक सुरक्षित हुने भएको बताउँदै सहसचिव पोखरेलले वैदेशिक रोजगारीमा जानेहरुका लागि अहिले आयश्रोत देखाउनु पर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेको र गन्तव्य देशको भाषा, कक्षा १२ सम्मको योग्यता भएको व्यक्तिलाई प्राथमिकतामा राख्न पनि प्रतिवेदनमा भनिएको बताए ।

कार्यदलले भिजिट भिसामा विदेश जाने महिलाका लागि अतिरिक्त शर्त समेटेर ‘भिजिट भिसा कार्यविधि/निर्देशिका’ बनाउन सरकारलाई सिफारिस गरेको छ । फागुन १८ गते कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई ५१ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । जसमा भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा पार्नुपर्ने र महिलाको हकमा थप शर्त समावेश गरेर ‘भिजिट भिसा कार्यविधि/निर्देशिका’ ल्याउन सुझाव दिएको छ ।

प्रतिक्रिया