शनिबार, जेठ ५, २०८१

पाल्पाली ढाकाको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ गरिँदै

रासस २०७८ फागुन २६ गते १२:२५

काठमाडौं । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवर्द्धन अभियान थालिएको छ । ढाकालाई ‘ब्रान्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो ।

लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, यूके एडको सीप नामक परियोजना र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्रान्डिङ’ गरिँदै छ । ब्रान्डिङ नै गरेर प्रमाणित गरी पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिए । नेपाल र नेपालीको ब्रान्डका रूपमा विदेशमा समेत यसले पहिचान बनाएको उनले बताए ।

जिल्लामा हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराइनेछ । ढाका उद्योगी सागर महर्जनले भने ‘अब देशका ठूला सहरमा पाल्पाली ढाका कपडा सहज रूपमा उपलब्ध हुनेछ । यसका लागि पाल्पाली ढाका संघले परियोजनाका माध्यमबाट उत्पादन वृद्धि गर्नेछ ।’

संघले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । यसमाथि हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ । यस्तो कपडालाई अझ बढी प्रचार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्ने भएको छ । कामदार अभावमा ढाका कपडा उत्पादन न्यून रहेकामा सीप परियोजनाको सहयोगमा अहिले बन्द उद्योग सञ्चालनमा आएको हो ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया