शनिबार, जेठ ५, २०८१

भेरी नदीमा बेलिब्रिज निर्माणकार्य तीव्रता

नेपालखोज २०७८ फागुन २६ गते १६:४४

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा रहेका भेरी नदीमा बेलिब्रिज पुल निर्माण कार्य जारी रहेको छ । निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेलिब्रिज निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ ।

जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज बनाएर डोल्पा खण्डमा बेलिब्रिज पुल निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर सुरेश बस्यालले बताए ।

बेलिब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीेभेरी नदी तरेर सिधैँ डोल्पाको खदाङसम्म जान पाएका छन् । पुल नहुँदा भेरी नदीको किनारमा वारिपारी रोकिएको अवस्था थियो । बेलिब्रिज नहुँदा यसअघि सवारीसाधन वारिपारी गराउनका लागि तल्लुबगरबाट गोतामकोटसम्म) तुइनमार्फत तारेर एक लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेको थियो । अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलिब्रिज निर्माणको काम भइरहेको छ । इकोइन्फ्रा विल्डर्सले बेलिब्रिज निर्माण गरिरहेको छ ।

विल्डर्सका प्रतिनिधि मनोज लेखकले सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए । उनका अनुसार अस्थायी बेलिब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पु¥याइने र अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलिब्रिज तयार गरिएको छ । विल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाडखोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलिब्रिज निर्माणको काम गरिरहेको छ । ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ, भने सामान जडान गर्न बाँकी रहेको छ ।

अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलिब्रिज बन्दै छ भने रुपगाडखोला र करबगारखोलामा पनि पुल बनाइने भएको छ । सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जिनीयर सुरेश बस्यालले ४ वटा बेलिब्रिज निर्माणको कार्य ६० प्रतिशतसम्म सकिएको बताए  ।

तल्लुबगरमा पुल नहुँदा नेपालगञ्ज, सुर्खेतलगायतका ठाउँबाट आएका सवारीसाधन तल्लुबगरमा रोकिने गरेका थिए  । अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्यूँमै बोकेर सामग्री वारपार गराउने गरेका छन् । अस्थायी बेलिब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताए ।–रासस

प्रतिक्रिया