बुधबार, असार १८, २०८२

स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालन गर्ने नेकपा एसकाे निर्णय

नेपालखोज २०७८ फागुन २६ गते १९:२५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । आज सम्पन्न भएको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा पार्टीको शक्तिलाई परिचालित गर्नेगरी कार्ययोजना पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी एमसीसीको विपक्षमा रहेका मतहरुलाई पार्टीको बौद्धिक सम्पतिको रुपमा राखि आवश्यकताअनुसार आगामी दिनमा छलफल गर्ने र अहिले भने केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई स्वीकार गरि अघि बढ्ने निर्णय गरिएको उनले जानकारी दिए ।

बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिका केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई समेटेर पारित गरेको छ ।

पारित भएको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिको परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टीको संगठनात्मक कार्यहरुको समिक्षा र पार्टीको आगामी कार्ययोजना लगायतका विषय समेटिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकले यस अघि पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकले गरेको राजनीतिक र सांगठनिक निर्णयहरु पनि अनुमोदन गरेको उनले बताए । बैठकले १५ बुँदे समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ । विश्वका विभिन्न देशहरुमा युद्ध भइरहेको प्रति एकीकृत समाजवादीले खेद प्रकट गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभुति प्रकट गरेको छ ।

पेट्रोलियम पद्धार्थमा भएको मुल्यवृद्धिले जनताको जनजिवन कष्टकर बनेकाले सरकार सँग दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि नियन्त्रण गर्न माग गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकले मुलुकको आर्थिक अवस्थाप्रति संवेदनशील हुँदै आमुल आर्थिक सुधार र विकास सम्बन्धी ठोस कार्यक्रम र नीति तर्जुमा गर्न सरकारसँग आह्वान गरेको पनि उनले बताए ।

प्रवक्ता खतिवडाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका सम्पूर्ण दलहरुसँग सहकार्य गरी गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउन र स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखि ढंगले परिचालन गर्न बैठकले प्रतिवद्धता गरेको पनि स्पष्ट पारे । सुकुम्बासी समस्या समाधान आयोगले सही सुकुम्बासीको यथाशीघ्र पहिचान गरी प्रभावकारी ढंगले दिर्घकालीन समाधानको पहल गर्न समाजवादीले आह्वान गरेको छ ।

त्यस्तैगरी, पञ्चायत कालमा राजनीतिक पूर्वाग्रहका कारण निष्काशनमा परेका शिक्षकहरुलाई पुर्नबहाली गर्न सरकारसँग माग गरिएको छ । त्यसैगरी बैठकले सरकार सञ्चालनका लागि गठबन्धनले तयार पारेको साझा न्यूनतम कार्यक्रमलाई सरकारले पूर्णरुपमा कार्यान्वय गर्न पनि माग गरेको प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया