बिहीबार, वैशाख २०, २०८१

फोहोरबाट झापामा ग्यास उत्पादन गरिने

नेपालखोज २०७८ फागुन २७ गते ११:४४

काठमाडाैं । आगामी चैत्रदेखि झापाको दमकमा फोहरबाट ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु हुने भएको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रा.लि. ले फोहोरबाट एकैसाथ ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको हो ।

कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले फोहोरबाट घरका भान्सामा प्रगोग हुने ग्यासदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गरिक मलसमेत उत्पादन गरिने बताए । कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गरिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताए । फोहोरबाट ग्यास र प्राङ्गरिक मल उत्पादन सुरुको लागि दमक-३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

नगरको फोहोर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहर छुट्याइन्छ । यसरी छुट्याइएको फोहरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फोहरबाट मिथेन बायोग्यास उत्पादन हुने र उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने जनाएको छ ।
निर्देशक खतिवडाका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र आठ दशमलव पाँच मिटर उचाइ भएको विशाल पक्की ट्याङ्की निर्माण भइरहेको छ ।

दैनिक एक हजार ८४ किलोग्राम वायोग्यास उत्पादन गर्ने सकिने र यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गरिक मल तथा करिब सात हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक नगरपालिकाका फोहर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए । संरचना निर्माणमा कूल २० करोड ५८ लाख ९७ हजार रुपैयाँ लागत रहेको छ ।

लागतमा सहभागिता १४ करोड ७० लाख रुपैयाँ बढी नेक्स्ट इरा इनर्जी प्रालि/ रोहन टेर्डस प्रालि जेभीको र बाँकी पाँच करोड आठ लाख बढी रुपैयाँ वैकल्पिक ऊर्जा प्रवधर्न केन्द्रको रहेको जनाइएको छ । जेभीले २०७७ माघ १० गते सम्झौता गरेको थियो । दमक क्षेत्रमा दैनिकजसो २० टन फोहर उत्पादन हुने गरेको छ भने १५ टन फोहर सङ्कलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहर रहने गरेको छ । कागज तथा कागजजन्य छ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य पाँच दशमलव ३७ प्रतिशत फोहर निस्किने गरेको छ ।

प्रतिक्रिया