आइतबार, वैशाख २३, २०८१

रुसविरुद्ध लगाइएका प्रतिबन्ध पश्चिमा मुलुकका लागि घातक : पुटिन

नेपालखोज २०७८ फागुन २७ गते १३:०५

काठमाडौं । रुसविरुद्ध लगाइएको प्रतिबन्ध पश्चिमा मुलुकका लागि पनि घातक हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । बिहीबार भएको रुसी सरकारको बैठकमा मस्को सबै समस्या समाधान गर्न सक्षम रहेको र बलियो रुपमा उदाउने पुटिनले बताए ।

युक्रेनमा रुसले भन्दै आएको सैन्य अपरेशनको विकल्प नभएको पुटिनले बताए । उनले रुस अल्पकालिन आर्थिक लाभका लागि आफ्नो सम्प्रभुतासँग सम्झौता गर्ने खालको मुलुक नभएको बताएका छन् । उनले भने ‘यी प्रतिबन्धहरु कुनै पनि किसिमबाट लगाउन सकिने थियो । केही सवाल, समस्या र कठिनाईहरु छन् । तर विगतमा पनि हामी यस किसिमको अवस्थाबाट बाहिरिन सफल भएका थियौँ । हाल पनि बाहिर आउन सफल हुनेछाैं ।’

मस्को एक प्रमुख उर्जा उत्पादक भएको र यसले युरोपको ग्यास आवश्यकताको एक तिहाइ आपूर्ति गर्दै आएको पुटिनले बताएका छन् । उनले भने, ‘अन्त्यमा यी सबैले हाम्रो आत्मनिर्भरता, पर्याप्तता र हाम्रो सम्प्रभुताको वृद्धितर्फ डोर्‍याउँछ ।’

उनको यो भनाइलाई पश्चिमी प्रतिबन्धहरुलाई आत्म पराजितको रुपमा चित्रण गर्न र रुसीलाई आश्वस्त पार्नका आएको विश्लेषण गरिएको छ । अमेरिकाले भने रुसी तेलमाथि प्रतिबन्ध लगाइसकेको छ ।

उसले आफ्नो आवश्यकताको ३ प्रतिशत मात्रै रुसी तेल खरिद गर्दै आएको थियो । पुटिनले भने, ‘अमेरिकामा पनि मूल्य उच्च भएको छ, मुद्रास्फीति अप्रत्यासित रुपमा वृद्धि भएको छ र कीर्तिमानी उच्च अवस्थामा पुगेको छ । उनीहरुले यसका लागि आफ्नै गल्ती भएको मान्दै आएका छन् । यस विषयसँग हामीलाई केही गर्नु छैन ।’

प्रतिक्रिया