आइतबार, वैशाख २३, २०८१

एनआरएनए जोगाउन शेष घलेको यस्तो कदम !

नेपालखोज २०७८ फागुन २७ गते १६:१७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।

गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् ।

गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुमध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।

निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता वासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (यूके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।

प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् । संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह-संयोजकमा अर्का उपाध्यक्ष मन केसी छन् । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आईसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरुलगायत रहनेछन् ।

दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत ८ देखि ११) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ । गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसकेपछि आईसीसीले प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

उच्चस्तरीय समितिले झन्डै २,६०० मतदाता रहेको सूची तयार गरेको छ । सोही सूचीका आधारमा निर्वाचन गराइने जनाइएको छ ।

प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौं आउन आग्रह गरेका छन् । उनले संस्था जोगाउन र एकजुट पार्न विधानले दिएको अधिकार प्रयोग गरी आफूले उक्त निर्णय गरेको बताए । उनले नेपाल सरकारसँग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् ।

प्रतिक्रिया