मंगलबार, जेठ १५, २०८१

शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक प्रारम्भ

नेपालखोज २०७८ फागुन २७ गते २०:२०

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक प्रारम्भ भएको छ । बैठक “गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार” भन्ने मूल आह्वानसहित आजदेखि कपिलवस्तुको वाणगंगामा प्रारम्भ भएको हो।

विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले राष्ट्रिय परिषद् बैठकको उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले मानव अधिकार, लोकतन्त्र, र शान्तिका लागि शान्ति समाजको खबरदारी निरन्तर रहोस भन्दै उत्पीडित र उपेक्षितहरुको उत्थानमा सबै समर्पित हुनुपर्ने बताए ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि डा. देवेन्द्रराज पाण्डेले वर्ष २०७७/७८ मा शान्ति समाजको उत्कृष्ट शाखाका रुपमा रुपन्देही शाखालाई र वर्ष २०७७ मा पोखरामा २३ औँ राष्ट्रिय परिषद् बैठक सफलतापूर्वक आतिथ्य गर्ने समाजको कास्की शाखालाई प्रशंसापत्र प्रदान गरेका थिए ।

समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पूर्व मन्त्री एवं पूर्व राजदुत नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्याय, संविधानसभा सदस्य विनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, जनता समाजवादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया