आइतबार, जेठ ६, २०८१

जसपा नेपालको संघीय परिषद् बैठक बस्दै, बाबुरामले राजनीतिक प्रतिवेदन पेस गर्ने

नेपालखोज २०७८ फागुन २८ गते १२:२९

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्को बैठक काठमाडौंमा बस्दैछ । आज दिउँसो बस्ने बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपाले बताएको छ । केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलन लगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ ।

संघीय परिषद् अध्यक्ष भट्टराईले बैठकमा प्रस्तुत गर्नका लागि ३२ पृष्ठको ‘समसामयिक राजनीतिक र जसपाको कार्यदिशा’ राजनीतिक प्रतिवेदन तयार पारेका छन् । १४ बुँदामा समेटिएको सो कार्यदिशामा अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टीको वैचारिक पक्ष, अन्य पार्टीसँगको सम्बन्ध, अगामी कार्यदिशालगायतका विषयवस्तु उनले समेटेका छन् ।

उनले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्नुलाई स्वाभाविक रूपमा लिएका छन् । उनले भनेका छन्, ‘महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका केही साथीहरूले प्रतिगामी ओली सरकारसँग गैरराजनीतिक चरित्रको हेलमेल र हिमचिम बढाउँदै त्यसमा सामेल हुने गलत बाटो अवलम्बन गर्न पुगे ।’

उनीहरूले ओलीको त्यो कदमलाई साथ दिने र ओली सरकारमा सामेल हुने झनै गलत बाटो अख्तियार गरेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले २०७८ श्रावण ११ गते निर्वाचन आयोगले पार्टीको आधिकारिता आफूहरूलाई दिएको र बाटो बिराएका अल्पमत पक्षका साथीहरू भिन्नै पार्टी गठन गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टी एकताको छोटो समयभित्रै सामना गर्न परेका यी उत्तर चढाव निःसन्देह असहज र दुर्भाग्यपूर्ण थिए । तथापि विभाजनकारी तत्त्वले पार्टीलाई खासै हानी पुर्‍याउन भने सकेनन् । पार्टीको ठूलो पङ्क्ति जनता समाजवादी पार्टी कै पक्षमा रह्यो ।’

प्रतिक्रिया