बिहीबार, जेठ १०, २०८१

प्रचण्डले भने- डाक्टर र वैद्यले सताए

नेपालखोज २०७८ फागुन २८ गते १६:५२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोष्टबहादुर बोगटीलाई सिनियर नेताहरुकै आलोचना गर्न सक्ने नेताको रूपमा स्मरण गरेका छन् । नुवाकोटमा बोगटीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेताहरुबीच विवाद हुँदा टेबल ठट्याएर कुरा राख्ने गरेको स्मरण गरेका हुन् ।

उनले बोगटी बोल्दा सात्तो जाने गरेकासमेत बताए । उनले भने, ‘बेलाबेला नेताहरुबीच अन्तर्विरोध हुँदा हामी सीमा नाघेर एकअर्कालाई चर्को आलोचना गर्थ्यौ । तर जब पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो, हामी सिनियर भनिएका नेताहरुकै सातो जान्थ्यो ।’

डा.बाबुराम भट्टराई र मोहन वैद्य किरणप्रति लक्षित गर्दै प्रचण्डले बोगटीले विद्वानहरूको समेत पसिना निकाल्ने गरेको प्रसङ्ग बताए । उनले भने, ‘डाक्टर र वैद्यले बेलाबेला हेडक्वार्टरलाई सताउने गर्थे । त्यतिबेला पोष्टबहादुर बोगटीले डाक्टर होस् या वैद्य सबैको पसिना निकाल्थे ।’

प्रचण्डले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको समेत बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यौं यो पनि समान्य थिएन । यी सबै कुरामा हामी अघि बढेर देशलाई निकास दिने काम गर्यौं । अहिले पनि हामी जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था छ ।’

उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै संकटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास गरेर संकटमोचन गरेको बताए । उनले भने, ‘पार्टीमा अप्ठ्यारो आउँदा वा अन्तर्विरोध चर्किँदा म उहाँलाई तपाईं जानु भन्थेँ । उहाँ त्यसलाई समाधान गर्नुहुन्थ्यो । युद्धको बेला होस् या शान्तिको बेलामा होस् उहाँ सर्वस्वीकार्य हुनुभएको थियो । उहाँलाई कसैले नकार्न सक्दैन थिए ।’

बोगटीको असामयिक निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताउँदै उनको निधनमा सिङ्गो राष्ट्रले शोक मनाएको जिकिर गरे । उनले भने, ‘बोगटीको निधनबाट सबैभन्दा दुःख भोग्ने दुःखी पात्र म बनेको छु ।’

प्रतिक्रिया