मंगलबार, असार १७, २०८२

छुस्याबहाल विहार परिसरको लाछी क्षेत्रमा उत्खनन् सुरु

नेपालखोज २०७८ फागुन २८ गते १७:३२

काठमाडौं । पुरातत्व विभागले काठमाडौं महानगरपालिका वडा नं २७ मा रहेको छुस्याबहाल विहार परिसरको लाछी क्षेत्रमा उत्खनन् सुरु गरेको छ । महानगरपालिकाले विहारको पाटी रहेको पुरातात्विकस्थल क्षेत्रमा वडा कार्यालयको भवन बनाउन शिलान्यास गरेपछि स्थानीय सम्पदा अभियानकर्मीले विरोध गर्दै आएका थिए ।

अभियानकर्मीले विभागमा उजुरी गरेपछि भवन बनाउन रोकेर शुक्रबारदेखि उत्खनन सुरु गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। यस सम्बन्धमा थप कुरा उत्खननको प्रतिवेदन आएपछि नै भन्न सकिने उनले बताए। उत्खनन नसकिएसम्म विभागको टोलीले काम गर्ने जनाइएको छ ।

महानगरपालिकाले भने वडा कार्यालय बनाउन लागेको जग्गा विहारको नभई क्लबका नाममा रहेको जनाएको छ । महानगरपालिका वडा नं २७ का अध्यक्ष चिनियामान बज्राचार्यले ज्याठा युवा क्लब र बोधी विकास स्कूलका नाममा रहेको कित्ता नं २१३१ को जग्गामा भवन बनाउन शिलान्यास गरिएको जिकिर गरे। क्लबका नाममा रहेकोे चार आना एक पैसा जग्गामा भवन बनाउन लागिएको थियो ।

विहारका नाममा रहेको जग्गाको कित्ता नं १७५८ को भएको जानकारी दिँदै उनले विभागले उत्खनन गर्न लागेपछि भने वडा कार्यालयले सहयोग गरेको र यसमा कुनै अवरोध नगरिने उनको प्रतिबद्धता थियो । सम्पदा अभियानकर्मी आलोकसिद्धि तुलाधरले प्रताप मल्लका पालामा सडकसँगै जोडिएको खुला भाग अर्थात् लाछी भनी उल्लेख भएको जग्गा कसरी विद्यालय र क्लबका नाममा गरियो भनी खोजी भइरहेको बताए।

यहाँ पहिले पाटी र लोकेश्वरको मन्दिर पनि थियो । पाटी भत्किएपछि मन्दिर विहारभित्र राखिएको छ । पाटीको भग्नावशेष अझै त्यहाँ रहेको उनले जानकारी दिए। सडकसँगै विहारका नाममा रहेको सार्वजनिक जग्गा अन्यत्र पनि यसैगरी मिचिएको छ । यसरी मिचिएका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थलको खोजी भइरहेको अभियानकर्मीले जनाए।

प्रतिक्रिया