शनिबार, जेठ ५, २०८१

‘पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदै छ, विद्युतीय उपकरण प्रयोग गरौँ’

नेपालखोज २०७८ फागुन २८ गते १७:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छन् ।

ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी हुन् ।

ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारे।

विद्युतीय उपकरण प्रयोग गर्दा देशको आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री भुसालले देशमा विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न आग्रह गरे ।

आगामी आर्थिक वर्षदेखि कृषिका लागि आवश्यक पर्ने विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिमा आत्मनिर्भर बनाउन सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन आफूले विशेष पहल गरेको र कृषकलाई अधिकतम फाइदा पुग्नेगरी ऊर्जाको सुनिश्चिता गर्ने वचन पनि दिए ।

प्रतिक्रिया