बुधबार, जेठ २, २०८१

स्वास्थ्य चौकीका उपकरण प्रयोगविहीन हुदाँ समस्या

नेपालखोज २०७८ फागुन २९ गते ११:३७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, ‘लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ ।जनशक्ति नहुँदा महिनौ देखि उपकरण कोठामै थन्किएका छन् ।

कोभिड–१९ संक्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएको र अहिले नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भए सँगै उपकरण स्वास्थ्यचौकीको कोठामा थन्क्याइएका छन् । दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उपलब्ध गराएका उपकरण प्रयोगमा नआउँदा सेवाग्राहीले महंगो शुःल्क तिर्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा क्लिनिकबाट सेवा लिनुपरेको बताए ।

स्वास्थ्यचौकीलाई उपलब्ध गराएका मध्ये अल्ट्रासाउण्ड मेसिनको मूल्यमात्रै २६ लाखरुपैयाँ बढी छ । त्यस्तै एक्सरे र इसिजी मेसिनसमेत २० लाख रुपैयाँ भन्दा बढी मूल्यको रहेका छन् । लाखौँ रकम खर्च गरेर उपलब्ध गराइएका मेसिन सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताए । नगरप्रमुख दिलबहादुर ऐरले स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन गर्नका लागि कटिबद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया