मंगलबार, जेठ १, २०८१

बागमती प्रदेशसभा बैठक बस्दै

नेपालखोज २०७८ फागुन २९ गते १२:३६

काठमाडौं । बागमती प्रदेशसभाको बैठक बस्दैछ । यसअघि पटक–पटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो ।

दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएकोे उनको भनाइ छ । उक्त बैठकले आज सदनमा पेस गर्ने कार्यसूची तय गर्ने छ ।

नेकपा एमालेको अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको बैठक यसअघि पटक-पटक मिति तय भए पनि बस्न सकेको थिएन । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभामा हाल १०९सदस्य छन् । तीमध्ये नेकपा एमालेका ४३, नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक सांसद छन् ।

प्रतिक्रिया