बुधबार, असार १८, २०८२

भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने यातायत व्यवसायीको धम्की

नेपालखोज २०७८ फागुन २९ गते १५:२८


काठमाडौं । यातायत व्यवसायीले चैत्र ७ गतेसम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले १३३ रुपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीहरुको गुनासो रहेको छ ।

बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ छ । आज पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी दिएका छन् । व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव ०३ प्रतिशत, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई)को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।

यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधनको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति ध्यानाकर्षण गराएका छन् । गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको छ ।

प्रतिक्रिया