शनिबार, जेठ ५, २०८१

कर्णाली प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया

नेपालखोज २०७८ फागुन ३० गते २:००

काठमाडौं । बिमा समितिको आयोजनामा आज सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बिमाको पहुँच विस्तारका लागि बिमा शिक्षाको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले बिमा कम्पनीहरूले बिमाको दाबी भुक्तानी समयमा नदिँदा बिमितहरू महिनौंसम्म कम्पनीहरूमा धाउनुपर्ने र बिमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै बिमा दाबी भुक्तानीमा सुधार गर्न आग्रह गरे । कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली प्रदेशको वस्तुस्थितिलाई ध्यानमा राखेर बिमालेख तयार गर्न बिमा समितिलाई आग्रह गर्दै प्रदेश कार्यालयमा बिमा इकाई स्थापना गर्ने जानकारी गराए ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशका सिमान्तकृत समुदायका लागि प्रदेश सरकारबाट नै बिमा गरिदिने व्यवस्था गर्न र आर्थिकरूपले सबल समुदायका लागि भने सार्वजनिक सेवासँग आवद्ध गरेर बिमाको दायरामा ल्याउन आग्रह गरे । अध्यक्ष सिलवालले प्रदेश बिमा नीतिको तर्जूमा, बिमा शिक्षालगायतका विषयमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न समिति तत्पर रहेको बताए । साथै, उनले बिमाको दाबी भुक्तानी विना ढिलाई सरलरूपले बिमा कम्पनीका शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिए ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संचालन गरेको कार्यक्रममा समितिका निर्देशक दिनेश कुमार लालले बिमा समितिको काम, कर्तव्य र अधिकार, बिमाका प्रकार, बिमाको महत्व, बिमा सूचकांक, बिमा क्षेत्रमा विद्यमान चुनौती र बिमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिकालगायतका विषयमा जानकारी मूलक प्रस्तुती गरेका थिए ।

प्रतिक्रिया