राणाविरुद्धको महाभियोग पारित गरी अनियमिततामा कारबाही गर्न माग

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरी उनलाई पदच्यूत गर्न माग गरेको छ । यस्तै समाजले अनेकौं अनियमिततामा संलग्न राणालाई आवश्यक कारबाही गर्नसमेत माग गरेको छ । साथै न्यायालय शुद्धीकरणकै लागि यस्तो माग गरिएको पनि समाजले जनाएको छ ।
कपिलवस्तुको वाणगंगामा सम्पन्न समाजको चौबीसौं राष्ट्रिय परिषद् बैठकले योसँगै विभिन्न आठवटा प्रस्ताव पारित गरेको छ । विभिन्न जिल्लाबाट दुई सयभन्दा बढी अधिकारकर्मीको सहभागिता रहेको राष्ट्रिय परिषद् बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार भन्ने आह्वानसहित आठवटा प्रस्ताव पारित गरेको समाजका केन्द्रीय सभापति गोविन्द खनालले विज्ञप्तिमार्फत जनाएका छन् ।
बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवनरक्षाका लागि योगदान गर्न आह्वान गरेको छ । एक निष्पक्ष संस्थाको रुपमा मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा पनि राष्ट्रिय परिषद् बैठकले प्रस्ताव पारित गरेको छ ।
कपिलवस्तुको वाणगंगामा भएको परिषद् बैठकको उद्घाटन नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले गरेका थिए । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता थियो ।
प्रतिक्रिया