आइतबार, वैशाख २३, २०८१

राजनेता विपीबारे ‘डकुमेण्ट्री फिल्म’ निर्माण

नेपालखोज २०७८ फागुन ३० गते १९:१५

काठमाडौं । राजनेता विपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ । डकुमेण्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईराला आफूमाथि लागेको ८ राजद्रोह सम्बन्धि मुद्धाकोे प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बिपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेण्ट्रीमा देखाइएको छ ।

नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेण्ट्रीमा उतारिएको छ । डकुमेण्ट्री हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दक्षिण एसियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका काण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा बिपीले चालेका कदमको प्रशंसा गरे । उनले बिपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको शाहसीक कदमका रुपमा चित्रण गरेका छन् । पूर्व प्रधानमन्त्री खनालले त्यो बेलामा वामपन्थी कम्युनिष्टहरुले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेण्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा ब्यक्त गरे ।

पूर्व प्रधानमन्त्री खनालले भने, ‘यो त्यस्तो कालखण्डको एउटा डकुमेण्ट्री बनेछ, जुन बेलामा दक्षिण एसियामा भारत सोभियत गठबन्धनले यो देशका साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको थियो । खतरामात्रै होइन, त्यसपछि हाम्रो मानचित्र नै बद्लियो । त्यो खतरा उपस्थित भइरहेको बेलामा नेपालको राष्ट्रियतामाथि पनि जुन ढंगले खतराहरु बढ्दै थिए, त्यस्तो बेलामा नेपालका राजनीतिक शक्तिहरु, यसमाथि पनि लोकतान्त्रिक शक्तिहरुको एकताको आवाज उठ्न थालेको थियो । यो आवश्यक्तालाई बोध गरेर, बिपीले त्यो बेला जुन प्रकारको कदम चाल्नुभयो, त्यो वास्तवमा नेपालको लोकतान्त्रिक आन्दोलनको निम्ति शाहसीक कदम हो । त्यही सेरोफेरोमा यो डकुमेण्ट्री बनेको रहेछ, यो मलाई नेपालको इतिहासमा बिर्सन नहुने जुन अध्याय हो, त्यो अध्यायलाई डकुमेण्ट्री गरेकोमा मलाई खुशी पनि लागेको छ ।

पहिलाको राजनीतिक वातावरण जुन थियो, दुई वटा लोकतान्त्रिक शक्तिहरु अघि बढीरहेको अवस्था थियो नेपालमा । त्यसमा एक शक्तिहको प्रतिनिधित्व काँग्रेसले गरेको थियो भने अर्को कम्युनिष्टले । कम्युनिष्ट नेताहरुको बीचमा पनि उनिहरुको बीचमा सरसल्लाह भयो र जसरी उहाँ भित्र आउनुभयो । त्यो भित्र आइसकेपछि सबै शक्तिहरुले र कम्युनिष्ट नेताहरुले पनि त्यो कदमको सरहाना गर्नुभयो । निरंकुशताका बिरुद्ध, राजतन्त्रका बिरुद्ध र निर्दलीय पञ्चायतका बिरुद्ध हामी सम्पूर्ण एकतावद्ध भएर लड्नुपर्छ भन्ने बढी आग्रह भन्ने हो भने त्यतिबेला वामपन्थीहरुको थियो । बिपीले त्यसमा संयुक्त भएर जान उहाँ विभिन्न कारणले सहमत हुनुभएन । मलाई लाग्छ त्यो उहाँको कमजोरी हो ।

त्यो कमजोरीलाई हामीले इंगित गर्नुपर्छ । तर वामपन्थीहरु संयुक्त आन्दोलनको पक्षमा त्यतिबेला पनि थिए । यो डकुमेण्ट्रीमा उनिहरुले गरेको चरित्र पनि प्रतिविम्वित भएको भए सुनमा सुगन्ध हुन्थ्यो ।’त्यस्तै नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेण्ट्री अति उपयोगि भएको बताए । उनले यो डकुमेण्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गरे । नेता कोईरालाले यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री भएको बताए ।

नेता कोईरालाले भने ‘यो इतिहासको त्यो कालखण्ड हो जुन मान्छेहरुले बिर्सिन सक्छन् । यसलाई एउटा डकुमेण्ट्रीको हिसावले जुन प्रस्तुत भएको छ, यो अत्यन्त राम्रो छ । इतिहासलाई व्यक्तिहरुमा पेस गर्नुपर्ने अवस्था सिर्जना हुन्छन् । नत्र यो इतिहास हराएर जान्छ । नेपालको राजनीतिमा, वर्तमान परिस्थितिमा हामीले बितेका दिनहरुलाई हेरेर भविष्यमा हामी यो पनि भन्न सक्छौँ कि, हाम्रो दिशा ठिक हो कि होइन ? मेरो लागि त्यो अत्यन्त राम्रो हो । यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री हो ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेण्ट्रीमा बिपी कोईरालाको नेपाल प्रवेशपछि जनमत संग्रहालय सम्मका घटनाक्रमहरुलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताए । उनले यस डकुमेण्ट्रीमा नेपालको राजनीति कसरी व्यतित भयो भन्ने कुरा जीवन्त उतारिएको बताए । अध्यक्ष पोखरेलले नयाँ पुस्ताका लागि यो डकुमेण्ट्री अत्यन्त महत्वपूर्ण भएको स्पस्ट पारे । राजनीतिक विश्लेषक डा. राम थपलियाले बिपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताए । उनले बिपीको राष्ट्रिय मेलमिलापको औचित्य आज झनै महत्वपूर्ण रहेको बताएका छन ।

सशस्त्र प्रहरी बलका पूर्व प्रमुख सनत बस्नेतले यो डकुमेण्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ भन्ने सन्देश दिइएको र अहिलेका राजनीतिज्ञहरुले यसबाट धेरै कुरा बुझ्न सक्ने बताए । उनले नैतिक बलमा नै राजनीति अडिनु पर्छ भन्ने कुरा राजनीतिक दलहरुले भुल्न नहुने भन्दै नैतिकता सिकेका राजनीतिक दलहरुले समाज र राजनीतिमा भएको ह्रास मेटाउन सक्ने बताए । त्यस्तै राजनीतिकर्मी डा. शिवजी यादवले यो डकुमेण्ट्रीले नेपालमा नौलो आयाम थपेको बताए । उनले अहिलेका राजनीतिक कर्मीहरुले यस डकुमेण्ट्रीबाट सिकेर अघि बढ्न आवश्यक रहेको औँल्याउनु भएको छ । ‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेण्ट्री निर्माण कार्य अघि बढेको बताएको छ ।

प्रतिक्रिया