आइतबार, जेठ ६, २०८१

जुम्लाको हिमा गाउँपालिकाले छाउपडी प्रथा अन्त्य गर्ने

नेपालखोज २०७८ फागुन ३० गते १५:३७

काठमाडौं । जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्ने प्रयास अघि बढाएको छ । पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ । छाउपडी प्रथा समाजकै कुरीति भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।

महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छाउपडी जस्ता कुरीतिलाई निरुत्साहित गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले भनिन्, ‘छोराछोरी बीच गहिरो विभेद छ । छाउपडी प्रथाले समाजमा हिंसा निम्त्याइरहेको छ । यी दुवैलाई गाउँपालिकाबाट निर्मूल पार्ने अभियान थालिएको हो । छोरीलाई छोरासरह सम्पत्ति दिने र छाउपडी हुँदा घरमै बस्न दिने परिवारलाई सम्मान पनि गरिएको छ ।’
गाउँपालिकाले छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरेको छ । छाउपडी प्रथा बार्ने नगरेका स्थानीयवासी खाम्बा शाही, राजबहादुर शाही र देबु सुनार पनि सम्मानित भएका छन् । भेदभावरहित समाज निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको भए पनि समाज अझै छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने परम्परामा बाँधिएको छ ।

कामलाई अन्त्य गर्न स्थानीय सरकार लागिपरेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले बताइन् । गाउँपालिकामै १९ जनाले छोरीलाई पैतृक सम्पति दिएको विवरण गाउँपालिकाले संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताएका छन् ।

प्रतिक्रिया