शनिबार, जेठ ५, २०८१

अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा सञ्चालन

पर्यटकको चाहनाअनुरूप बिहान ५ बजेबाट साँझ ६ बजेसम्म चल्ने

नेपालखोज २०७८ फागुन ३० गते १६:०६

काठमाडौं । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले भोलि (चैत १ गते, मंगलबार) बाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखरा महानगरपालिका १८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार मंगलबार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।

बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरूले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । गत फागुन ६ गतेबाटै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दूरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेटमै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा पाँच सय जनासम्मले यात्रा गर्न सकिने बताइएको छ ।

कम्पनीले नेपालीका लागि सात सय, सार्क राष्ट्रका पर्यटकका लागि आठ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यसैगरी विद्यार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भ्रमणमा आउने सदस्यहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड–१९ को संक्रमणकालीन समय र विभिन्न संरचनाहरूले गर्दा लागत बढेको बताइन्छ । कम्पनीमा स्थानीय बासिन्दाबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।

प्रतिक्रिया