आइतबार, असार २२, २०८२

भिलेनसँग लड्दालड्दै पार्टी विभाजन भयो : प्रचण्ड

नेपालखोज २०७८ फागुन ३० गते १७:२१

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरिएको बताएका छन् । अध्यक्ष प्रचण्डले सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शकितहरुले षडयन्त्र गर्दै आएको समेत बताए ।

अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्रअन्तर्गत संसद विघटन भएको खुलासा समेत गरेका छन् । प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिंग थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाइन गर्नका लागि गरिएको षड्यन्त्र थियो ।’

उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिंग अन्तर्गतको षडयन्त्र भएको र सो संघर्षमा केपी ओली एउटा माध्यम भएको उनको भनाई थियो । उनले भने, ‘यो षड्यन्त्रविरुद्ध हामी सडकमा उत्रियौं र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौं । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले नै जनतालाई अपील गरेपछि देशैभरी विभिन्न तह र तप्काका जनता यो डिजाइनविरुद्ध संघर्षमा होमिए ।‘

लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि यो देशी विदेशी सेटिंग असफल भएको उनको दाबी छ । उनले भने, ‘माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको हो । नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन । त्यतिबेला नेपाली कांग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ । नेपाली कांग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं । दोश्रोपटक समेत प्रतिगमनकारीहरुले संविधानमाथि प्रहार भएर संसद विघटनभएपनि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि हामीले गठबन्धनको निर्माणको पहल गर्यौं । माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस भनेर धेरैचोटी अनुरोध गर्यौं ।’

दोश्रोपटकको विघटनलाई गठबन्धनको माध्यमबाट असफल बनाएको उनको भनाइ छ । उनले भने, ‘त्यहाँ पनि माओवादी केन्द्रको मुख्य भूमिका रह्यो । हामीले नेपाललाई यहाँसम्म ल्याउन माओवादी केन्द्र र यसको नेतृत्वले कसरी भूमिका खेल्दै आयो भन्ने कुरा सूक्ष्मरुपमा बुझ्नुपर्छ । यी सबै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगे । सातवटै प्रदेशका मुख्यमन्त्री घर फर्किए । त्यसैले अहिले विचलित र अस्पष्ट हुनु जरुरी छैन । आत्मसमीक्षा गर्दै अघि बढनुपर्छ ।’

अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र भएको आरोप लगाए । उनले भने, ‘पार्टी एकतापछि हामीमाथि षडयन्त्र हुनथाल्यो र माओवादी नेतालाई आरोपित गरियो ।’

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पार्टी एकता गरेपछि भिलेन फेला परेको बताए । अध्यक्ष प्रचण्डले भने, गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन । तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दा लड्दै विभाजित हुनुपर्‍यो ।’

उनले भिलेनसँग लड्दालड्दै पार्टी विभाजन हुन पुगेको समेत बताए ।

प्रतिक्रिया