बिहीबार, जेठ ३, २०८१

नेपाल वायुसेवा निगमको जग्गा बेवारिसे बन्दै

नेपालखोज २०७८ चैत १ गते १७:५९

काठमाडौं । नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ । जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी समान राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो । जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको छ भने वरिपरि लगाइएको पर्खालसमेत ठाउँठाउँमा भत्किएको छ ।

झण्डै दश कट्ठा क्षेत्रफल रहेको उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको छैन् । जग्गा नजिकैको कालोपत्र सडक छेउमा व्यापार गर्दै आउनुभएका रसीतुल्लाले भने, ‘सरकारी कार्यालय भएर पनि नेपाल वायुसेवाको जग्गा बेवारिसे बनेको छ । धनगढी सहरको मुटुमा रहेको यो जग्गा उपयोगमा ल्याउन सके कार्यालयको आम्दानी बढ्ने थियो ।’ धनगढीमा सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमको कार्यालय झण्डै पाँच वर्षअघि बन्द गरिएको थियो ।

धनगढी विमानस्थलबाट वायुसेवा निगमले आफ्नो जहाज उडाउन नसकेपछि धनगढीको कार्यालय पनि बन्द गरेको थियो ।निगमले सुदूरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरालगायतका क्षेत्रमा धनगढी विमानस्थलबाट केही महिनादेखि हवाई सेवा सुरु गरेको छ । यो सँगै धनगढी विमानस्थलमै निगमको कार्यालय सञ्चालन गरिएको छ ।

निगमका एक कर्मचारील भने, ‘धनगढीमा रहेको जग्गा भाडामा लगाउने वा आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा केन्द्रमा कुरा चलिरहेको छ ।’ यसअघि निगमले विगतमा उक्त जग्गालाई भाडामा दिने प्रक्रिया थालेको थियो । भाडामा लिने पहल गर्नुभएका स्थानीयवासी रमणचन्द्र श्रेष्ठले जटिल कानुनी प्रक्रिया सँगै लापर्बाहीका कारण भाडामा लिन नसकिएको बताए । पछिल्लो समय उक्त जग्गामा बालुवा र गिट्टीसमेत थुपार्ने गरिएको छ ।

प्रतिक्रिया