बिहीबार, जेठ ३, २०८१

नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका वेबसाइटहरू नचल्ने

नेपालखोज २०७८ चैत १ गते १७:२९

काठमाडाैं । नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइटहरू नचल्ने भएका छन् । मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।

अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत कारोबारी एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालिएको हो । नेपाली पैसा अवैधरूपमा विदेशिएसँगै र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणको लागि काम सुरु गरेको हो ।संचारमन्त्रालयको निर्णय अनुसार प्रधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेर अवैध आर्थिक कारोबार हुने एपहरू बन्द गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटको अर्धवार्षिक समीक्षाको बेला क्रिप्टोकरेन्सी र बिटक्वाइनजस्ता अवैध कारोबार बढेको भन्दै सरकारले यसलाई रोक्ने तयारी गरिरहेको संकेत गरेका थिए । क्रिप्टोकरेन्सी, बिटक्वाइन र अनलाइन जुवाजन्य कारोबारले आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्या क्रिप्टोकरेन्सी कारोबारी छन् । विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा त्यो संख्या ४ लाख २३ हजार ८ सय ४० जना छ । नेपालमा पटक-पटक अबैध मानिएको क्रिप्टो कारोबारीहरु भेटिएका थिए ।

भर्चुअल मुद्रालाई पूर्ण निस्तेज गर्ने गरी अर्थमन्त्रालय मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता वेबसाइटहरु, एपहरु बन्द गर्न पत्र आए अनुसार प्राधिकरणले यस्तो निर्देशन गरिएको जनाएको छ । तत्काल कार्यान्वयनमा जाने गरी यस्ता आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन समेत गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया