सोमबार, जेठ १४, २०८१

होलीमा अवाञ्छित गतिविधि रोक्न ट्राफिक व्यवस्थापनमा कडाइ

उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था

नेपालखोज २०७८ चैत २ गते १६:००

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रंगहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा १ हजार ३ सयभन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक ईकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई आज ब्रिफिङसमेत गरेका छन् ।

उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल चलाउउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीन जनाभन्दा बढी सवारी बोक्ने, महिलाहरूलाई लक्षित गरी रङ, लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने, बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरु गर्ने भएको छ । फागु पूर्णिमा (होली) को शुभकामनासहित दुर्घटनारहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया