मंगलबार, असार १७, २०८२

आगामी चुनाव माओवादीका लागि ‘लाइफ एन्ड डेथ’ : प्रचण्ड

नेपालखोज २०७८ चैत २ गते १६:४१

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेटिङ गरेर चुनाव जित्न कांग्रेस एमाले नै सिपालु भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।

माओवादीको गैर भौगोलिक प्रादेशिक कमिटीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले संसद विघटनसम्म पुग्दा ओली जत्तिको खराब व्यक्तिसँगको सहकार्यप्रति घृणा लागेको बताए । उनले भने, ‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ । माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै सिपालु छन् । जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ । हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ । इटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ ।’

प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एन्ड डेथ’ (जीवन मरण) को सवाल भएको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन ओलीको एकल निर्णय नभएर देशभित्रका प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरुको समेत डिजाइनमा भएको बताए ।

केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकहिँ दिक्क लाग्ने गरेको समेत उनले बताए । एमसीसी अनुमोदन नहुँदा प्रतिगामी ओली फेरि शक्तिमा आउने, कांग्रेस एमाले गठबन्धन हुने र आफूहरुमाथि झन् ठूलो संकट आउने भएकाले व्याख्यात्मक घोषणाबाट बाटोमा गएको प्रचण्डको भनाइ थियो । उनले भने, ‘अहिले दुईवटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ ।’

प्रतिक्रिया