सोमबार, जेठ १४, २०८१

स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवारलाई टिकट : केपी ओली

नेपालखोज २०७८ चैत २ गते १८:४६

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिए ।

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत जित हासिल गर्ने दावी समेत गरे । संसदीय दलका नेता ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवार उठाउन पनि सांसदहरुलाई सचेत गराए । प्रमुख सचेतक भट्टराईले भने, ‘आज हाम्रो पार्टीका अध्यक्ष, संसदीय दलका नेताले हामी प्रश्तावित वैशाख ३० गते हुने चुनावका लागि ६५ देखि ७० प्रतिशत सिटमा नेकपा एमालेले विजय प्रााप्त गर्दछ । उहाँहरु गठबन्धनको तयारीमा हुनुहुन्छ ।’

उनले एमाले एक्लै चुनाव लड्ने जानकारी दिए । उनले भने, ‘गठबन्धनका लागि उहाँहरुलाई शुभकामना पनि दिन चाहन्छौँ तर नेकपा एमाले स्थानीय तहमा यदा कदा कुनै राजनीतिक दलसँग हुने गठबन्धन एकताबाहेक नेकपा एमाले देशभर एक्लै लड्छ । ६ हजार ७४३ वटा वडा, ७५३ वटा पालिकाहरुमा नेकपा एमाले एक्लै चुनाव लडेर ६५ देखि ७० प्रतिशत सिटमा विजय प्राप्त गर्ने, पूर्वानुमान हाम्रो पार्टीका अध्यक्षले आजको बैठकमा राख्नुभएको छ । त्यसका लागि सांसदहरुले आफ्नो सारा हैसियत खाजेर, आसनग्रहण खोजेर नेताजस्तो भएर नभइ कार्यकर्ता जस्तो भएर जनतासँग नङ मासुजस्तो सम्बन्ध कायम गरेर योग्यतम उम्मेदवारहरुलाई खडा गरेर, सकेसम्म सर्वसम्मतिका साथ उम्मेदवारी छानेर, हामीले यो चुनावमा विजय प्राप्त गर्नुपर्छ र त्यो अभियानमा सरिक हुन निर्देशन गर्नुभयो ।’

प्रमुख सचेतक सचेतक भट्टराईले सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पास नगराउन र अदालतलाई गिजोल्ने मनशायका साथ ल्याएको दाबी समेत गरे ।

प्रतिक्रिया