शुक्रबार, जेठ ११, २०८१

हिमाल-पहाडमा फागु मनाइँदै

कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनको आह्वान

नेपालखोज २०७८ चैत ३ गते ७:०३

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए । हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।

अन्तत उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए । तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।

अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ ।

होलीको अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँने गर्दछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा शुक्रबार होली मनाइँदै छ।

प्रतिक्रिया