राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना इन्डोनेसिया जाँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका छन् । व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत ४ गतेदेखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार आज बेलुका इन्डोनेशिया प्रस्थान गर्ने भएका छन् ।
अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रवार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहने छन् । त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ ।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो : मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् । त्यसैगरी सम्मेलनको विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरुको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत हुने भएको छ । न्यूज एजेन्सी नेपालसँग भ्रमणबारे संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठुलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरतापूर्वक कुरा राख्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा भाग लिने कार्यक्रम रहेको छ । सो सत्रमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटाले पनि सहभागिता जनाउँदै छन् । अनिता देवकोटाले महिला संसद सदस्यहरुको बैठक एवं छलफलमा, उमाशंकर अरगरियाले युवा संसद सदस्यहरुको बैठक एवं छलफलमा भाग लिनुहुने संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा सदस्य सुरेन्द्रबहादुर कार्कीले ‘इन्गेजिङ फर अ युनिभर्सल बन अन न्यूक्लियर टेस्टस्’ विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संघीय संसदका महासचिव भरतराज गौतम ‘एसोसीएसन अफ सेक्रेटरिज् जेनेरल अफ पार्लियामेन्ट्स’ सम्मेलनमा सहभागी हुने बताए । सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत ११ गते शुक्रवार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया