शुक्रबार, जेठ ११, २०८१

ऊर्जामन्त्री भुसालसँग एडिबीका प्रतिनिधिमण्डलको भेट

नेपालखोज २०७८ चैत ४ गते १६:५८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सँग एसियाली विकास बैंक (एडिबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे छलफल गरेको छ । मन्त्रालयमा आज भएको छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजना सम्भावनाका विविध विषयमा चासो राखेको छ ।

मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण विषय कृषि नै भएकाले यस क्षेत्रमा एडिबीको सहयोग आवश्यक रहेको बताइन् । उनले भनिन् , । ‘सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्याउन सकेमा कृषि जन्य वस्तुको आयात रोक्न सकिन्छ र त्यसले हाम्रो देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले हामीलाई तराईसहित मध्यपहाडका खेतियोग्य जमिनमा सिँचाइ आयोजना पुर्याउनका लागि एडिबीको सहयोग आवश्यक छ ।’

एडिबीका दक्षिण एसिया महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्नुपर्नेमा जोड दिइन् । आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्ने बताउँदै उनले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गरिन् ।

भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति रहेको थियो । त्यसैगरी एडिबीका तर्फबाट दक्षिण एसिया हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाश र नेपालका लागि देशीय निर्देशक आरनौड काउचरिज लगायत प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया