मंगलबार, जेठ १, २०८१

स्कूल जान टाढा भएका छात्रालाई साइकल दिइयाे

नेपालखोज २०७८ चैत ५ गते १०:३५

काठमाडौं । भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । महानगरपालिकाले जोखिममा परेका ‘महिला सँग मेयर’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरेको हो । दुई वर्ष देखि सुरु गरिएको कार्यक्रम अन्तर्गत भरतपुरका वडा नं १८, १९ र २० का आठ विद्यालयका ६० छात्रालाई साइकल वितरण गरिएको हो ।

महानगरपालिकाको सामाजिक महाशाखाका अनुसार महानगरले हालसम्म ५२४ छात्रालाई साइकल प्रदान गरिसकेको छ । विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल वितरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताइन् । एक समारोहका बीच महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा पश्चिम चितवनको भीमनगर मावि बाट साइकल वितरण गरेको थियो ।

सो अवसरमा प्रमुख दाहालले विकासको गतिले अगाडि बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नु पर्ने शैक्षिक सुधारकै कारण पाँच हजार भन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा बढेको जानकारी दिइन् । उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागि परेको बताइन् ।

प्रतिक्रिया