शुक्रबार, वैशाख २८, २०८१

भारत, चीनलगायत देशबाट नेपालमा फलफूलको आयात आकासियो

७ महिनामा ७ अर्ब बराबरको फलफूल आयात

नेपालखोज २०७८ चैत ५ गते १४:४५

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउको आयात भएको हो । ती मध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार रुपैयाँ मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना रहेको छ । यति हुँदा हुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफूलको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाल लाई फलफूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७ / ७८ को बजेट पुस्तिका मार्फत घोषणा गरेको थियो ।

नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्काे छिमेकी मुलुक भारत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्त सम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसै गरी सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार छ सय रुपैयाँ मूल्य बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्दछ । सो अवधिमा भारतबााट ७७ करोड ४८ लाख ७२ हजार रुपैयाँ , साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार रुपैयाँ र टर्कीबाट ११ लाख ६६ हजार ६०० रुपैयाँ मूल्य बराबरका कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार रूपैयाँ मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा रहेको छ ।

कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ । पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । १०० मिटरको उचाइदेखि दुई हजार ४०० मिटरको उचाइमा ८०० मिली मिटरदेखि एक हजार २०० मिलीमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ । कागतीलाई सुन खेतीका नामले पुकारिन्छ । झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब १० लाख रुपैयाँ आम्दानी हुने कृषि विज्ञको भनाइ छ ।

नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।

त्यस्तै सोही अवधिमा अंगुुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अंगुरको आयात हुने गर्दछ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अंगुर आयात भएको तथ्याँक रहेको छ ।

यसैगरी सोही अवधिमा नेपालमा भारत बाट झन्डै १० करोड रुपैयाँ मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट दुई करोड रुपैयाँको एभोकाडो, भारतबाट १६ करोड रुपैयाँको खर्बुजा, चीनबाट १३ करोड रुपैयाँको नासपाती भारतबाट , चार करोड रुपैयाँको किवी, नौ करोड रुपैयाँको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलफूल गरी झन्डै तीन अर्ब रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया