आगामी निर्वाचनमा ओलीको बाकसमा ‘जिरो’ मत हुनुपर्छ : नेता खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले संसद् विघटन गरेर संविधानको उल्लंघन गर्ने एकाले अध्यक्ष केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताए ।
पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरे । ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनु पर्ने तर संविधान उल्लंघन गर्दा पनि ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताए ।
नेता खनालले आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दाबी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए । खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।








प्रतिक्रिया