बुधबार, जेठ १६, २०८१

पहिरोबाट विस्थापित भएका २५ परिवारलाई जग्गा

नेपालखोज २०७८ चैत ५ गते १५:५४

काठमाडौं । संखुुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुन : स्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिएका छन् ।

गत बर्ष २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका २५ परिवारलाई जग्गा खरिद गरि रजिष्ट्रेशन पास गरिएको र विस्थापित ९२ घरपरिवार मध्ये ३७ घरपरिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले बताए ।

जिल्ला विपत् व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरे सँगै गाउँपालिका भित्र बस्न चाहने २५ घरपरिवारका लागि प्रतिरोपनी एक लाख २२ हजार ६४२ रुपैयाँमा ५३ रोपनी जग्गा खरिद गरिएको गाउँपालिका अध्यक्ष कुलुङले बताए ।

१२ घरका लागि बखल्टुम गाउँमा प्रतिरोपनी दुई लाख रुपैयाँका दरले १७ रोपनी खरिद गरी हस्तान्तरण गर्न लागिएकोे छ । पहिरोबाट विस्थापित भएका अन्य केही परिवारलाई खाँदबारी नगरपालिका समेत लगिने तयारी भइरहेको उनले बताए । सिलिचोङका पहिरो पीडित ५५ परिवारलाई भने खाँदबारी नगरपालिका ल्याउने तयारी भइरहेको र त्यसका लागि जग्गा खोजबिन समिति गठन गर्न लागिएको बताए ।

प्रतिक्रिया