बिहीबार, जेठ १०, २०८१

बन्यो देशकै दोस्रो ठूलो विद्युत् सब-स्टेसन (फोटो फिचर)

नेपालखोज २०७८ चैत ५ गते १६:०७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको सबस्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ । माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४।२ मेगावाट क्षमताको लिखू खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेशनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेशनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सबस्टेशनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ के.भी. सबस्टेशन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ । नयाँ खिम्ति सबस्टेशनमा आठवटा २२० केभी ग्यास इन्सुलेटेट स्विचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्विचगियर बे छन् ।

साथै, सबस्टेशनमा २२०/१३२ के.भी., ३३.३३ एमभिए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहेको सबस्टेशनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशन निर्माण भएको छ ।

प्रतिक्रिया