बिहीबार, जेठ २, २०८२

युक्रेनविरुद्ध रुसी मिसाइल शक्ति

नेपालखोज २०७८ चैत ५ गते २०:१९

मस्को । युक्रेनमाथिको आक्रमणमा मिसाइल नै रुसको सबैभन्दा ठूलो हतियार भएको छ । युक्रेनमा अहिलेसम्म जे जति विनाश भएको छ, त्यसमा सबैभन्दा ठूलो भूमिका मिसाइलकै छ । रूसले युक्रेनमाथि अहिलेसम्म १०८० वटा मिसाइल प्रहार गरिसकेको छ । रुसी आक्रमणको चौबीस दिनमा युक्रेनका कैंयन् सहर खण्डहरमा परिणत भइसकेका छन् ।

रूसले युक्रेन हमलामा आफ्नो सम्पूर्ण मिसाइल शक्ति प्रयोग गरिरहेको छ । उसको मिसाइलले युक्रेनको हरेक भागमा पुगेर विनाश मच्चाइरहेको छ । यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भन्छन्, ‘हामी जति हुनसक्छ रूसी मिसाइल खसालिरहेका छौं । हामीले उनीहरुको विमान तथा हेलिकोप्टरहरुलाई नष्ट गरिरहेका छौं । यद्यपि हामीसँग पर्याप्त मिसाइल प्रतिरोधी हतियार छैन । हामीसँग पर्याप्त लडाकु विमान पनि छैन तर हाम्रो लक्ष्य स्पष्ट छ- आफ्ना नागरिक तथा आफ्नो भूमिको रक्षा ।’

रूसी हमलाको प्रमुख हतियार क्रुज मिसाइल
क्यालिबर क्रुज मिसाइलले आवाजको अठ्ठाइस गुणा तीव्र गतिमा उडेर लक्ष्यमा हमला गर्नसक्छ । यो मिसाइल हावा, पानी तथा जमिन जहाँसुकैबाट छोड्न सकिन्छ । यो क्रुज मिसाइलले आफ्नो लक्ष्य खोजेर त्यसमाथि प्रहार गर्नसक्छ । यसको मारक क्षमता १५०० किलोमिटर देखि २५०० किलोमिटर छ । यो मिसाइललाई अमेरिकाको टम हक क्रुज मिसाइलभन्दा बढी खतरनाक मानिन्छ ।

पश्चिमी देशहरुले युक्रेनलाई एन्टी एयरक्राफ्ट गन तथा मिसाइलहरु उपलब्ध गराएका छन् र तिनकै प्रयोग गरेर युक्रेनले रूसी विमानमाथि प्रत्याक्रमण गरिरहेको छ । यसक्रममा रूसका कैंयन् ट्यांक, लडाकु विमान तथा हेलिकोप्टर युक्रेनी प्रत्याक्रमणक‍ो सिकार भइसकेका छन् भने ठूलो संख्यामा रुसी सैनिक पनि मारिएका छन् । त्यसैले रूसले अहिले हमलाका लागि तोप तथा मिसाइलको प्रयोग बढी गरिरहेको छ । यसले आफ्नो पक्षमा कम नोक्सान तथा विपक्षीको बढी नोक्सान हुन्छ ।

जमिन, हावा र समुद्रबाट मिसाइल प्रहार
रूससँग ७० किलोमिटरदेखि १६ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने मिसाइल छ जसले जमिन, हावा तथा समुद्रबाटै लक्ष्य भेदन गर्न सक्छ । रुससँग भएको जिरकोन मिसाइलको जवाफ अमेरिकासँग पनि छैन । यो मिसाइलले आवाजभन्दा आठ गुणा तीव्र गतिमा उडेर लक्ष्यमा प्रहार गर्न सक्छ । यो मिसाइल ९८०० किलोमिटर प्रतिघण्टाको रफ्तारले उड्न सक्छ जसलाई कुनै मिसाइल डिफेन्स सिस्टमले पक्रन सक्दैन ।

युक्रेनी स्रोतहरुका अनुसार रूसले आफ्नो पूरा मिसाइल तागत युक्रेनको विरुद्ध लगाएको छ । अहिले रुसी सैन्य कर्मचारीहरु नयाँ मिसाइल निर्माणमा दिनरात काम गरिरहेका छन् ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया