सोमबार, जेठ १४, २०८१

‘नेताका टुक्का तथा हँस्यौली अभिव्यक्ति जनतालाई ठग्ने चाल’

केशव भट्टराई २०७८ चैत ६ गते १७:१६

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै छ । चुनाव नजिकिएसँगै चुनावी चहलपहल पनि बढेको छ । वैशाख ३० गते निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएको छ । निर्वाचन आयोगको सक्रियतासँगै राजनीतिक दल तथा दलका नेताहरूराई चुनावी चटारोले छोपेको छ ।

उम्मेदवारको टुंगो लगाउने समय निकै भएका बेला आफ्नो पक्षमा जनतालाई आकर्षित गर्न नेतारूको दौडधूप बढेको छ । देशका विभिन्न ठाउँमा पुगेर आमसभा तथा कार्यकर्ता भेटघाट गर्न आजभोलि नेताहरूलाई भ्याइ–नभ्याई छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरू गाउँसम्म पुग्दै छन् । यस्तै जिल्ला तथा प्रदेशमा पुगेर शीर्ष नेताहरू चुनावी अभियानमा होमिन जनतालाई हौस्याइरहेका छन् ।

देश दौडाहामा निस्किने क्रममा दलका नेताहरूले अर्को दलका नेताहरूमाथि कटाक्ष गरिरहेका छन् । सत्ताको नेतृत्व गरेको कांग्रेसले त फागुन २९ गतेदेखि चैत २९ गतेसम्म एकमहिने चुनावी अभियानै सुरु गरेको छ । एकमहिने अभियान सुरु गरेको कांग्रेसका शीर्ष तथा केन्द्रीय नेताहरू पनि के कम र ? कांग्रेस नेताहरू टुक्कापूर्ण अभिव्यक्तिले अरू दल तथा नेताहरूलाई खुल्याएर जनताको ध्यान आकर्षित गर्न खोज्दै छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय तहमा रहेका नेताहरूलाई पनि देश दौडाहामा निस्कन भ्याइनभ्याई छ । ंशीर्ष नेताहरूका कटाक्षपूर्ण टुक्काहरू सामाजिक सन्जालमा भाइरल भइरहेका छन् ।

चुनाव नजिकियो भने हाम्रा नेताहरूका टुक्का सुन्न टिकटकभन्दा नि रमाइलो हुने भन्ने स्टाटस सामाजिक सन्जालमा पढ्न सकिन्छ । वामपन्थी दलका नेताहरू अरू पार्टीभन्दा बढी कटाक्षपूर्ण टुक्का प्रहार गरिरहेका छन् । वामपन्थी दलका नेताको तुलनामा कांग्रेस, मधेसवादीलगायत दलका नेताहरूको व्यंग्य तथा टुक्का अभिव्यक्ति पछिल्लो समय अलि कम छ ।

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सन्जालमा प्रधानमन्त्री शेरबहादुर देउवाले भीमबहादुर रावललाई गरेको कटाक्ष केही समयअघि निकै चर्चित थियो । त्यसबेला प्रधानमन्त्री देउवाले रावललाई आफैँ रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? उस बेला दिमाग खुस्क्याथ्यो ? भनेर कटाक्ष गरेका थिए । देउवाको अभिव्यक्तिको प्रतिउत्तरमा भोलिपल्टै रावलले ‘झुटो बोल्ने प्रधानमन्त्रीकै दिमाग खुस्किएको’ भनेका थिए ।

यस्तै कांग्रेस नेता गगन थापाले ‘माले, मसाले, मण्डले एकै हुन्’ भनेको विषय पनि नेताहरूको शब्द प्रहारमध्येमा पर्छ । यसैगरी कांग्रेसभन्दा बढी नेकपाबाट फुटेका एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीले एक–अर्कामा कटाक्ष गरिरहेका छन् ।

चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजधानी काठमाडौदेखि गाउँ–नगरसम्म पुगेर बोल्ने गरेका छन् । उनी जहाँ पुग्छन्, एक–दुईवटा कटाक्षपूर्ण टुक्का प्रहार गरिहाल्छन् । पछिल्लो समय कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ भन्ने उनको अभिव्यक्ति चर्चित छ । कांग्रेसलाई पाँच वर्षअघि २३ सिटमा झारिदिएको बताउँदै अध्यक्ष ओलीले अब १३ सिटमा झारिदिनुपर्ने जनाए ।

उनले एकीकृत समाजवादी पार्टी त स्थानीय तहको चुनावमै समाप्त हुने चेतावनी दिए । यस्तै प्रधानमन्त्री देउवातिर लक्षित गर्दै उनले ‘देउवाजी लौरो टेकेर अरूले नदेख्नेगरी सूर्यमा भोट हाल्नुस्’ भनेको विषय पनि सामाजिक सन्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भयो । चुनावपछि माओवादी समाजवादी सकिन्छन् भन्ने ओलीको अभिव्यक्तिले पनि माओवादी केन्द्रका नेताहरूलाई ओलीविरुद्ध अर्को एउटा नयाँ प्रहार खोज्न बाध्य बनाएको छ ।

चुनावी दौडाहाको सिलसिलामा माओवादी अध्यक्ष प्रचण्डको टुक्का पनि गज्जबकै छ । उनले सिन्धुलीमा आयोजित एक कार्यक्रममा माओवादीहरू शान्ति–प्रक्रियामा आएपछि ‘सिंह र भेडा’ को कथामा जस्तै हुन थालेको बताए । उनले १०–१५ भेडाहरूसँग हिँड्दा हिँड्दा भ्याभ्या गर्न थालिएको जनाए ।

यस्तै कारबाही गर्न भन्दै एक्सनमा उत्रिने पर्यटनमन्त्री प्रेम आलेका कटाक्षपूर्ण अभिव्यक्तिहरू सुन्न, हेर्न तथा पढ्न पाइन्थ्यो । उनले शनिबार एक कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई महाभारतका दुर्योधनको संज्ञा दिए । उनले दुर्योधन र ओलीको अहंकार एकै भएकाले सर्वनाश निश्चित छ भन्दै भाषण दिएका हुन् ।

यस्तै एकीकृत समाजवादीका नेता झलनाथ खनालको केपी ओलीको बाकसमा जिरो मत खस्नु्पर्छ भन्ने अभिव्यक्ति आयो । उनले ‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ, उनको बाकसमा जिरो मत खस्नुपर्छ, तब मात्र नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहर हुन्छ’ भनेका थिए ।

यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललले गोरखामा आयोजित एक कार्यक्रममा ओलीलाई लक्षित गर्दै आफैंले जन्माएको सन्तान रावण भइदिएको बताए । एमाले विध्वंशकारी पार्टी बनेको बताउँदै उनले ओलीको क्रान्तिकारी धार भुत्ते हुँदै गएको आरोप लगाए ।

उनले सूर्यमा ग्रहण लागिसकेको जनाए । यस्तै वर्तमान सरकारकी मन्त्री रामकुमारी झाँक्री पनि बेलाबेला चर्चामा आइरहन्छिन् । उनले केही दिनअघि ७६ जिल्ला नभए पनि गुल्मीमा गठबन्धन हुन्छ भनेको अभिव्यक्तिप्रति सामाजिक सन्जालमा विभिन्न टिप्पणी देखिए ।

साामाजिक सन्जाल प्रयोगकर्ताहरूले ‘अरूतिर एजेन्डामा बहस हुन्छ तर हाम्रोमा यस्तैयस्तैमा रमाइलो छ’ भन्दै टिप्पणी आएका छन् । बेलाबेला विभिन्न पार्टीका शीर्ष तथा केन्द्रीय नेता, मन्त्रीलगायतले दिने अभिव्यक्तिलाई जानकारहरू जनता ठग्ने चाल मात्रै भएको दाबी गर्छन् ।

नेपालखोजसँग कुुराकानी गर्दै स्वतन्त्र विश्लेषक डा. गोपीलाल न्यौपानेले जनता भुल्याउँदै देशका विभिन्न समस्याहरूलाई लुकाउन नेताहरूले हँस्यौली अभिव्यक्ति तथा टुक्का हान्ने गरेको दाबी गरे । हँस्यौली अभिव्यक्ति तथा टुक्काका आधारमा जनतालाई अल्झाएर नेताहरूले बठ्याइँ गर्ने गरेको डा. न्यौपानेको भनाइ छ । यस्ता बठ्याइँपूर्ण अभिव्यक्तिले देशका समस्या समाधान हुनुको साटो झन् बढ्ने विश्लेषक न्यौपाने ठोकुवा गर्छन् ।

प्रतिक्रिया