आइतबार, जेठ ६, २०८१

चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक

नेपालखोज २०७८ चैत ६ गते १९:१७

काठमाडौं । खिलबहादुर तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको अभिनयमा बनेको मन्त्रमा नेपालको हिमाली क्षेत्रको भेषभुषा र लवज हेर्न पाइन्छ ।

प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात मल्ल र दीया पुनको अलावा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिरबहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा अभिनेता मल्लले चलचित्र छायाँकनको समयमा निकै गाह्रो भए पनि चलचित्र राम्रो बनेको बताए । आफुले चलचित्रको लागि घोडचढी सिकेको बताए ।

उनले भने, ‘चलचित्रमा घोडा दौडको दृश्य भएकाले छायांकनभन्दा अगाडि केही दिन घोडा चलाउन सिकेको थिएँ । तर, मेरो भागमा परेको घोडा निकै अटेरी रहेछ । राम्रो बाटो छाडेर भीर–भीर मात्र हिँड्थ्यो । केही पटक लडेँ पनि । पछि त्यही घोडाले मलाई पहिलो बनायो ।’

चलचित्रका निर्देशक खिलबहादुर तामाङले चलचित्र मौलिक नेपाली चलचित्र बनेको बताए । आउँदो बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको छायाँकन ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा गरिएको बताइएको छ ।

प्रतिक्रिया