बिहीबार, जेठ १०, २०८१

मुख्यमन्त्री कप यु-१९ महिला प्रतियोगितामा कर्णाली प्रदेशको विजयी सुरुआत

नेपालखोज २०७८ चैत ६ गते २१:०२

कैलाल । मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कैलालीको धनगढीमा आजबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो । सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिइन् । उसका श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले समान २/२ तथा विना थापाले १ विकेट लिइन् ।

त्यस अघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डोर्‍याए । किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन । बलिङ तर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच कर्णालीकी एन्जीला थापा भइन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीका महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिताका जनाएका छन् ।

प्रतिक्रिया