शुक्रबार, जेठ ४, २०८१

ओमिक्रोनलाई लिएर गलत जानकारी र भ्रम फैलियो : डब्ल्यूएचओ

नेपालखोज २०७८ चैत ७ गते १३:३९

काठमाडौं । कोरोना महामारीसँग संसारको लडाइँ अहिले पनि जारी छ । यो उत्तिकै चुनौतीपूर्ण पनि छ । दुई सातायता कैंयन् देशमा कोरोना संक्रमण बढेको छ ।

यसबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ महामारीलाई लिएर फैलिरहेको गलत सूचनाप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओ ले भनेको छ- गलत सूचना र भ्रम फैलिरहेको छ । डब्ल्यूएचओमा कार्यरत कोभिड-१९ टेक्निकल टिमकी नेतृ मारिया वान केरखोभका अनुसार तीनवटा महत्त्वपूर्ण कुरा छन् जसले भाइरसलाई फेरि फैलन मद्दत पुर्याइरहेको छ । गलत सूचनाका कारण के भ्रम फैलिएको छ भने कोरोना महामारी समाप्त भइसकेको छ, ओमिक्रोन हल्का छ र यो कोरोनाको अन्तिम भेरियन्ट हो । मारिया भन्छिन्- गलत सूचनाका कारण मानिसहरुमा भ्रम उत्पन्न भइरहेको छ ।

कोभिड-१९ बाट जोगिन भ्याक्सिनेसनको आवश्यकतामा जोड दिँदै उनले भनेकी छन्- कोभिड-१९ विरुद्धको खोप गम्भीर बिरामी तथा मृत्यु रोक्न अविश्वसनीय रूपले प्रभावकारी साबित भएको छ, जसमा ओमिक्रोन भेरियन्टबाट बचाउ पनि छ । आममानिसहरुबीच कैंयन् गलत सूचना फैलिएको छ । जसमा ओमिक्रोन हल्का छ भन्ने कुरा प्रमुख छ ।

अर्को गलत जानकारी के फैलिएको छ भने कोरोना महामारी समाप्त भइसकेको छ । गलत सूचना के पनि हो भने ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट हो । यी गलत सूचनाहरुलाई चिर्न सक्नुपर्छ किनभने यसले भ्रम सिर्जना गरिरहेको छ र यसले हामीलाई कोरोनाविरुद्ध लड्न वा यसको विस्तार रोक्न बाधा खडा गर्छ । केरखोभले बीए.वानको तुलनामा बीए. टुको गाम्भीर्यमा खासै फरक नदेखिएको कुरा पनि बताएकी छन् ।

संक्रमणमा ८ प्रतिशत वृद्धि
गएको साता संसारका कैंयन् देशमा मानिसहरु ठूलो संख्यामा अस्पताल भर्ना भए । डब्ल्यूएचओले आफ्नो ताजा साप्ताहिक तथ्यांकमा पनि कोरोनाका संक्रमितहरु बढिरहेको जनाउँदै कोभिड-१९ को महामारी अन्त्य नभएको बताएको छ । डब्ल्यूएचओको तथ्यांकअनुसार गएको साताको तुलनामा यो साता आठ प्रतिशत संक्रमित बढेका छन् । जसमा ११ लाख नयाँ संक्रमित छन् ।

कोरोनाको प्रकोप अहिले पश्चिमी प्रशान्त क्षेत्रमा बढी फैलिएको छ । जसमा दक्षिण कोरिया र चीन प्रमुख छन् । त्यहाँ संक्रमितमा २५ प्रतिशत तथा संक्रमणका कारण हुने मृत्युमा २७ प्रतिशत वृद्धि देखिएको बताइएको छ ।

प्रतिक्रिया