बुधबार, असार १८, २०८२

‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक

नेपालखोज २०७८ चैत ७ गते १२:१९

काठमाडौं । माक्र्सवादी लेखक तथा अर्थविद् गोविन्दप्रसाद लोहनीका सम्झनामा कृपा पब्लिकेसन हाउसद्वारा प्रकाशित ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक गरिएको छ ।

लोहनीका कनिष्ठ पुत्र कपिल लोहनीको संयोजकत्व र ‘शारदा’ मासिक पत्रिकाका सम्पादक विमल भौकाजीका सम्पादकत्वमा प्रकाशित ८४० पृष्ठको उक्त ग्रन्थमा विभिन्न क्षेत्रका १२३ विद्वत् व्यक्तित्वद्वारा लिखित स्मृति लेख तथा लोहनीका २० उत्कृष्ट लेख, रचना, अन्तर्वार्ता तथा दैनिकी समाविष्ट छन् । विसं १९८५ मा जन्मी २०७७ पुस ११ गते निधन भएका लोहनी नेपालका अग्रणी माक्र्सवादी प्रचारक हुनाका साथै साहित्यमा पनि प्रखर थिए ।

नेपाल राष्ट्र बैंकका संस्थापकमध्येका एक उनि नेपालमा भारतीय मुद्रालाई विस्थापन गरेर नेपाली रुपैयाँको प्रचलन गराउने र भारतीय सय रुपैयाँको १६० रुपैयाँ नेपाली विनिमय दर कायम भूमिका खेल्नाका साथै भूमिसुधारका निम्ति आवश्यक पूर्वाधार र सोच बनाउने प्रमुख व्यक्ति थिए । राष्ट्रिय योजना आयोगका सदस्य र पाकिस्तानका निम्ति नेपाली राजदूतका रूपमा पनि काम गरेको उनले नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बहालीमा ठूलो योगदान दिएका थिए ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनका केही कृति प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिसकेको र भविष्यमा पनि त्यस्ता कृति प्रकाशन गर्ने सोच राखेको जानकारी दिए । शनिबार आयोजित कार्यक्रममा कमल कोइराला, हिरण्यलाल श्रेष्ठ, बद्रीप्रसाद खतिवडा, डा. जयराज आचार्य, डा. विश्वम्भर प्याकु¥याल, डा.खेम कोइराला बन्धु, डा. रत्नशमशेर राणा, डा.मोहन लोहनी, डा.मदनकुमार भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, पदम ठकुराठी, पुष्कर लोहनी, प्रद्युम्नविक्रम शाह, रमा शर्मा, ज्ञानु पाण्डेलगायतले लोहनीका योगदानका विभिन्न आयामबारे प्रकाश पारे ।

प्रतिक्रिया