सोमबार, असार २३, २०८२

जाउलाखेलमा २३औं फ्लोरा एक्स्पो

नेपालखोज २०७८ चैत ७ गते १६:३२

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा आगामी बुधबारदेखि २३औं फ्लोरा एक्स्पो हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा एक्स्पो चार दिनसम्म चल्नेछ ।

एक्स्पोमा पुष्प विकास केन्द्र, वाग्मती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र कृषि विभागको आर्थिक सहयोग छ । मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने छ ।

मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा सघाउ पुर्याउने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक शिवबहादुर खड्काले राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार एक्स्पोमा अफिसियल स्टल ४, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुई र व्यावसायिक स्टलका लागि ५६ सहित ६२ वटा स्टल रहनेछन् ।

एक्स्पोमा मौसमी फूल, आलंकारिक बोट-बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउबिजन, ग्रिनहाउस कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ-संस्थाहरुको सहभागिता रहनेछ ।
मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल-बिरुवाहरुबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने पनि एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार १० उत्कृष्ट मौसमी फूल, २० उत्कृष्ट आलंकारिक बिरुवा, ३० उत्कृष्ट फूल्ने बिरुवा, ४० उत्कृष्ट पुष्प सजावट, ५० उत्कृष्ट स्टल, ६० उत्कृष्ट कट फ्लावर (गुलाब), ७० उत्कृष्ट कट फ्लावर (कार्नेसन), ८० उत्कृष्ट कट फ्लावर (जरबेरा) गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

साथै यस वर्ष लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसायको क्षेत्रमा योगदान पुयाएको पुष्प नर्सरीको छनोट गरी उक्त नर्सरीलाई कदरपत्रद्वारा सम्मान गरिने भएको छ । प्रदर्शनी पुष्प उद्यमी/व्यवसायी तथा कम्पनीहरुको लागि पुष्प तथा पुष्पजन्य वस्तुको आफ्नो बजार विस्तार गर्न, सूचना तथा नयाँ प्रविधिको क्षेत्रमा भएको प्रगतिबारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, पुष्पसम्बन्धी नयाँ-नयाँ विकास भएका उत्पादनहरुलाई सार्वजनिक गर्ने र ग्राहक उपभोक्ताहरुसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर हुनेछ ।

पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवाप्रति अभिरुचि राख्ने तथा यससम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति २३ औ फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको विश्वास छ । पुष्प व्यवसायको क्षेत्रमा भए/गरेका नयाँ नयाँ प्रविधि र उपलब्धिसहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको प्रविधिको विषयमा समेत मेला स्थलमा जानकारी प्राप्त हुनेछ । यी प्रविधिहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पूर्ण व्यावसायिक कृषिका लागि समेत अति उपयोगी हुने भएकाले कृषिसँग सम्बन्धित व्यवसायी, अध्ययन अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्न संघ-संस्था एवं व्यक्तिहरुलाई समेत मेला र प्रदर्शनी अत्यन्त उपयोगी हुनेछ ।

गत वर्षमा भएको फ्लोरा एक्स्पोहरुको आधारमा तथा कोभिड महामारीका कारण पुष्पको बजार खस्केको अवस्थालाई मध्यनजर गर्दा यस वर्ष एक्स्पोको अवधिभित्र ४५ हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

कोरोना कहर हुनुभन्दा अघिको सामान्य अवस्थामा आब ०७५/७६ मा दुई अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार थियो । आव ०७६/७७ मा करिब तीन अर्बभन्दा बढीको कारोबार हुने प्रक्षेपण रहेकामा कोभिड-१९ को महामारीका कारण अन्तिम चार महिना पूर्ण रुपले बजार बन्द हुँदा व्यावसायिक गतिविधिमा कमी आई दुई अर्ब १५ करोडमा कारोबार सीमित भएको थियो ।

यस आव ०७७/७८ मा वर्षैभरि कोभिड-१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायिक कारोबारमा भने कमी आई १ अर्व ६३ करोडको मात्र कारोबार भएको व्याहोरा एसोसिएसनले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसनले २०५१ सालबाट पुष्प प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्दै आइरहेको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण मेला प्रदर्शनीको आयोजना हुन सकेको थिएन ।

प्रतिक्रिया