बुधबार, जेठ १६, २०८१

घनश्यामलाई ओलीको जवाफ- देशमा वाम भन्ने चिज नै छैन, के-को एकता ?

नेपालखोज २०७८ चैत ७ गते १९:१८

काठमाडौं । वाम एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने भनी आएको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीरका गरेका छन् । नेकपा एमालेको सोमबार बसेको पोलिटब्युरो बैठकमा एमाले नेता घनश्याम भुसाल, रघुजी पन्तलगायतका नेताले बैठकमा वाम एकताको प्रस्ताव राख्दा अध्यक्ष ओलीले अस्वीकार गरे ।

देशमा कुनै वाम नै नभएको भन्दै ओलीले एकता नहुने बताए । ओलीले भने, ‘कसैसँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ? वाम भन्ने चिज नै छैन । अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ ।’

आगामी चुनावमा गठबन्धन र वाम एकताका लागि एमालेले ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले त्यस्को प्रतिकार गरे । बैठकको अन्तिममा अध्यक्ष ओलीले नेता भूसाल र पन्तले राखेको प्रस्तावको जवाफ दिँदै ओलीले प्रचण्ड र माधव नेपालले एकताको ढोका खुला राख्नुपर्ने धरातल नै नराखेकाले उनीहरुलाई एमालेले पुन एकताका लागि ढोका खुलै राख्नुपर्ने आवश्यकता नभएको जवाफ दिएका हुन् । उनले भने, ‘वामपन्थी एकताका लागि एमालेले ढोका खुला राख्ने कुरामा प्रचण्ड र माधव नेपालले त्यो धरातल नै राख्नुभएको छैन । चित्रबहादुरको पार्टीले त एमालेसँग एकता नगर्ने भनेर निर्णय नै गरेको छ ।’

ओलीले प्रचण्ड र माधव नेपाल झ्याल ढोका फोरेर गएकोमा आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘उनीहरु झ्याल ढोका फोरेर गएका हुन् । त्यसरी गएकाहरुलाई हामीले ढोका खुला राख्नुको के अर्थ हुन्छ र ? १९ बुँदे आरोपपत्र लगाएर, अध्यक्षबाट कारवाही गरेर, काँग्रेसलाई सत्ता बुझाएर न्यायालय सेटिङ गरेर परमादेशबाट सरकार बनाउनेलाई फेरि ढोका खुल्ला ? यो सम्भव छैन ।’

ओलीले १४ सांसदको कारवाही नगरेर प्रचण्ड, माधव नेपाल र सभामुख अग्नि सापकोटा मिलेर संविधान समेत मिचेको आरोप लगाएका थिए । उनले भने, ‘नामका वामपन्थी कामका विरोधीहरुलाई समेट्न सकिँदैन । यो एजेण्डा अहिलेको एजेण्डा पनि होइन’, ओलीले बैठकमा भनेका थिए, ‘उहाँहरु (माधव प्रचण्ड) लाई होइन तलका नेता कार्यकर्तालाई स-सम्मान ल्याउन सकिन्छ ।’

बैठकमा नेता महेश बस्नेत र हिक्मत कार्कीले पनि भुसाल र पन्तको प्रस्तावप्रति असहमति जनाएका थिए । नेता बस्नेतले वामपन्थी, राष्ट्रवादी र प्रगतिशिल शक्तिहरूलाई नेकपा एमालेमा समावेश गराएर क्रान्ति र निर्वाचनमा सहभागी हुन आव्हान गर्नुपर्ने बताएका थिए । साथै उनले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान एमालेले पहल कदमी लिनुपर्ने भन्दै पार्टी अध्यक्षले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रस्तावमा दुई दलीय व्यवस्थाको प्रस्ताव समेटिनुपर्ने धारणा राखेका थिए ।

सोमबार बसेको बैठकले आगामी वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनि गर्ने र उम्मेदवार छान्न विभिन्न मापदण्ड अपनाएको छ ।

प्रतिक्रिया